पपुवा न्युगिनीलाई पहिलो जित, फाइनलमा पुग्ने आशा कायमै
काठमाडौं -कप्तान असाद भाला र टोनी उराले सानदार अर्धशतक बनाउँदै पपुवा न्यु गिनी (पीएनजी) को त्रिकोणात्मक ट्वान्टी २० श्रृंखलाको फाइनलमा पुग्ने आशालाई जीवित राखेका छन् । पीएनजीले शुक्रबार मलेसियालाई ८ विकेटले पराजित गर्यो ।
भाला र उराले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बाउन्ड्रीको वर्षा गरेपछि पीएनजीले प्रतियोगितामा पहिलो विजय हात पारेको हो । पहिलो तीन खेल हारेर पीएनजी प्रतियोगिताबाटै बाहिरिने स्थितिमा पुगेको थियो । भालाले ५१ बलमा ७४ र उराले ३४ बलमा ८६ रन बनाएपछि पीएनजीले १ सय ९७ रनको लक्ष्य १७.५ ओभरमा १ सय ९९ रन बनाउँदै पुरा गर्यो । भालाले ८ चौका र १ छक्का तथा उराले २ चौका र १० छक्का प्रहार गरे । यी दुईले अविजित १ सय ३७ रनको साझेदारी गरेका थिए ।
मोहम्मद वाफिकले इनिङ्सको पहिलो बलमै लेगा सिएकालाई बोल्ड गरेका थिए । भालाले चार्ल्स अमिनीसँग दोस्रो विकेटमा ६२ रन जोडे । अमिनीले २२ बलमा ५ चौकासहित २८ रन बनाए । यसअघि पीएनजीले टस जितेपछि ब्याटिङमा आएको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ९६ रन बनाएको थियो ।
मलेसियाबाट कप्तान अहमद फैजले ४३ बलमा ५ चौका र ३ छक्कासहित ६३ तथा सैयद अजिजले ३५ बल खेली ८ चौका र ३ छक्का प्रहार गरी ६४ रन बनाए । पीएनजीका काबुआ मोरेआले ३ विकेट लिए । नेपाल लगातार तीन खेल जितेर यसअघि नै फाइनलमा प्रवेश गरिसकेको छ । नेपालले शनिबार राउन्ड रोबिन लिगको अन्तिम खेलमा मलेसियाको सामना गर्दैछ । मलेसियाले नेपाललाई पराजित गरेमा फाइनल पुग्ने छ तर पराजित भएमा पीएनजीले नेपालसँग सोमबार फाइनल खेल्ने छ । मलेसिया र पीएनजीले क्रमशः ३ र ४ खेलमा १/१ विजय हात पारेका छन् ।