स्वस्थ शरीरका लागि पेटको सफाइ हुनैपर्छ
आयुर्वेदिक मान्यता अनुसार पेटको खाना पचाउने प्रज्वलित अग्निलाई उदराग्नि भनिन्छ । त्यस उदर अग्निअन्तर्गत विभिन्न क्षारतत्व एवम् इन्जाइमले पेटमा पुग्ने आहार तताउने, टुक्राउने देखि लिएर पाचन गर्ने र त्यसलाई ऊर्जामा रुपान्तरण गर्ने कार्य गर्दछ ।
सम्पूर्ण पाचन प्रक्रिया हुँदै सिङ्गो शरीर सञ्चालनसम्मको आधारशीला त्यही पेटको अग्निप्रधान पर्यावरण हो । यो पर्यावरण सुसन्तुलित रहेमा मात्रै आयुर्विज्ञानमा वर्णित
त्रिदोष– वात–पित्त, कफ, सप्तधातु एवम् भिन्नभिन्न प्रकृतिका मलविकारको स्थिति स्वास्थ्य अनुकूल रहन्छ । यसै सन्तुलित अवस्थालाई आधुनिक शरीर विज्ञानमा र आयुर्वेद दुवैमा पूर्ण स्वास्थ्य भनिएको छ ।
खाएको खाना परिपाक भएर जीवनको सारभूत शक्ति ओजस् अर्थात् वीर्यतत्वमा रुपान्तरित हुनका लागि पनि शरीरभित्रको आन्तरिक पर्यावरण सन्तुलित हुनुपर्ने आवश्यकता आयुर्वेदले स्पष्टसँग दर्शाएको छ । त्यस्तो स्थिति भएमा मात्रै सप्तधातुको निर्माण प्रक्रियाद्वाा पेटमा पुगेको दानापानी रस हुँदै अन्त्यमा वीर्यतत्वमा रुपान्तरित हुन सक्दछ ।
हामीले ग्रहण गरेको अन्नपानी अर्थात् आहार बाट सर्वप्रथम रस बन्दछ । क्रमशः रसबाट रगत, रगतबाट पुनः मांस, मांसबाट मेद अर्थात् बोसो, मेदबाट अस्थि अर्थात् हाड, अस्थिबाट मज्जा अर्थात् मासी र अन्ततः मज्जाबाट शुक्र बन्ने प्रक्रिया पूर्ण हुन्छ ।
तसर्थ, जतिजति शरीरस्थ दोष, धातु र मलको साम्यावस्था भई त्यो सुव्यवस्थित र स्थिर हुन्छ, त्यति नै पेटको आन्तरिक हालचाल सुव्यवस्थित भएको मानिन्छ ।
साभार : ‘खाने कसरी पिउने कसरी’ पुस्तकबाट
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०१:०३
प्रतिक्रिया दिनुहोस्