त्रिदेशीय टी-२० क्रिकेट : उपाधिका लागि नेपाल र पीएनजी आज भिड्दै
काठमाडौँ - अपराजित यात्रा तय गर्दै त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइनल पुगेको नेपालले आज उपाधिका लागि पपुवा न्युगिनी (पीएनजी) सँग खेल्दैछ ।
आयोजक नेपालले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पीएनजीको सामना गर्न लागेको हो । फाइनल खेल दिउँसो १२:३० बजे सुरु हुनेछ ।
नेपालले ४ खेलमा सबैमा जित निकाल्दै शीर्ष स्थानमा रहेर फाइनल खेल्न लागेको हो ।
नेपाल आज पीएनजीलाई हराएर एकदिवसीय सिरिजको बदला लिन चाहन्छ । पीएनजीले यस अघि नेपालविरुद्धको दुई खेलको एकदिवसीय सिरिज २-० ले क्लिन स्विप गरेको थियो ।
नेपालका कप्तान सन्दीप लामिछानेले अहिलेसम्म आफूहरुले परीक्षण गरेको तर फाइनलमा भने उत्कृष्ट प्रदर्शन गर्ने दाबी गरेका छन् । आफू टिमको कप्तान भएपनि टिमको सदस्यको हैसियतमा अरुलाई जति खुशी मिल्छ आफूलाई पनि त्यति नै खुशी मिल्ने बताए ।
पीएनजीले उपविजेताको रुपमा फाइनल खेल्न लागेको हो । पीएनजीले ४ खेलमा ३ हार र एक जित निकालेको थियो । ४ खेलमा १ जित र ३ हार ब्यहोरेको मलेसियालाई नेट रनरेटमा पछि पार्दै पीएनजी फाइनल पुगेको हो ।
पीएनजी नेपाललाई पन्छाउँदै टी-ट्वान्टी सिरिजको पनि उपाधि उचाल्ने योजनामा छ ।