युद्धको चपेटामा परेको युक्रेनको बुचा शहरको हृदयविदारक दृश्य, रुसविरुद्ध युद्ध अपराधमा छानविन गर्न माग
काठमाडौँ – युक्रेनको बुचा शहरमा रुसले युद्ध अपराध गरेको आरोप लगाउँदै अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेका छन् ।
राजधानी किभ निजकैको बचा शहरमा रुसी सेनाले सर्वसाधारणको हत्या भएको सम्बन्धमा संयुक्त राष्ट्रसंघका महासचिवत एन्टोनियो गुटेरसले स्वतन्त्र छानविनको माग गरेका छन् ।
पछिल्लो केही हप्ता रुसी सैनिकको नियन्त्रणमा रहेको उक्त क्षेत्र पुनः युक्रेनी सेनाको नियन्त्रणमा आएपछि त्यहाँ भएको विनाश र हत्याका घटना सार्वजनिक भएका हुन् । अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिन्कनले त्यहाँ छरिएका कंकाल तथा अलपत्र शवहरुको दृष्य निराशाजनक भएको बताएका छन् ।
बुचा शहरमा भएको नरसंहारलाई लिएर जर्मनी, फ्रान्स, बेलायत तथा नेटोका नेताहरुले आफूहरु स्तब्ध भएको प्रतिक्रिया दिएका छन् ।
यता, रुसले भने ती सार्वजनिक तस्वीरको सत्यताबारे प्रश्न उठाएको छ । उसले बुचामा युक्रेनी कट्टरपन्थीका उत्तेजनात्मक कदमबारे छलफल गर्न सुरक्षा परिषदको आपत्कालीन बैठक डाकिनुपर्ने माग गरेको छ ।
बुचाका सडकमा सर्वसाधारणका शव देखिएका छन् । विनाश र हत्याको तस्वीर हृदयविदारक रहेको भन्दै अन्तर्राष्ट्रिय समुदायबाट रुसी सैनिकले बुचामा युद्ध अपराध गरेको बताएका छन् ।