नेपालले जित्यो त्रिकोणात्मक टी-२० सिरिजको उपाधि
काठमाडौं - त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० शृंखला अन्तर्गत भएको खेलमा नेपालले जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा नेपालले पपुवा न्युगिनी (पिएनजी) लाई ५० रनले जितेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रनको योगफल तयार पारेको थियो ।
तर पिएनजीले १ सय १८ रन मात्र जोड्न सक्यो । खेलमा दीपेन्द्रसिंह ऐरीको निकै राम्रो प्रदर्शन रह्यो । नेपालका लागि अर्धशतकीय इनिङ खेलेका दीपेन्द्रले सर्वाधिक ५४ रन बनाएका थिए । उनले ३८ बलमा पाँच चौका प्रहार गरे ।
यस्तै नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख क्रमशः २५ रन र २९ रन र तेस्रो नम्बरमा ब्याटिङ गरेका रोहितकुमार पौडेलले दुई रनमा आउट हुँदा दिलीप नाथ र आरिफ शेख डकआउट भएका थिए । यस्तै करण केसीले १२ बलमा पाँच चौका र एक छक्कासहित ३३ रन जोडेका थिए ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ १९:५७
प्रतिक्रिया दिनुहोस्