फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ
काठमाडौँ — नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । मंगलबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको हो । त्यस्तै डिजेल र मट्टितेल पनि प्रतिलिटर ५ रुपैयाँले बढेको छ ।
अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १४३ रुपैयाँ पर्ने भएको छ ।
निगमले खाना पकाउने ग्यासको मूल्य पनि वृद्धि गरेको छ । एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएर १६ सय कायम गरिएको छ ।
आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २२ रुपैयाँ ९८ पैसा घाटा रहेको छ । डिजेलमा प्रतिलिटर २८ रुपैयाँ घाटा ब्यहोर्नु परेको निगमले उल्लेख गरेको छ । मट्टितेलमा ६, हवाई इन्धन आन्तरिकतर्फ १७ रुपैयाँ १५ पैसा र हवाई इन्धन बाह्यतर्फ ६७ रुपैयाँ ६५ पैसा नाफा रहेको छ । यस्तै खाना पकाउने ग्यासमा ९३२ रुपैयाँ ३८ पैसा घाटा रहेको निगमले जनाएको छ ।
यसअघि निगमले चैत २ गते पेट्रोलियम पदार्थको भाउ बढाएको थियो ।