देश आर्थिक संकटको डिलमा पुग्यो : बैंकर शेरचन
काठमाडौ– प्रभु बैकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले देशको आर्थिक अवस्था दयनीय रहेको बताएका छन् ।
सामाजिक सञ्चालन फेसबुकमा बुधबार बिहान लेख्दै बैकर शेरचनले देशको आर्थिक अवस्था सङ्कटको डिलमा पुगेको बताएका हुन् ।
चैत तेस्रो सातामा आइपुग्दा बैंकिङ प्रणालीमा निक्षेप संकलन सुस्त भएपछि कर्जा प्रवाह निकै बढेको छ । चैतको पहिलो साता निक्षेप र कर्जा दुवै घटेको थियो । दोस्रो साता निक्षेप २ अर्बले बढ्दा कर्जा प्रवाह १ अर्ब मात्रै रहेको थियो । तेस्रो साता आइपुग्दा बैंकमा निक्षेप संकलन १ अर्ब हुँदा कर्जा प्रवाह बढेर ६ अर्ब पुगेको छ ।
नेपाल बैकर्स संघका अनुसार चैत १८ गतेसम्म बैंकमा निक्षेप १ अर्ब रुपैयाँले बढेर ४३ खर्ब ३१ अर्ब रुपैयाँ छ । यस्तै कर्जा प्रवाह ६ अर्ब रुपैयाँले बडेर ४१ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ । मुद्रास्फितिको बढ्दो दर, कर्जा वृद्धिअनुसार निक्षेप नहुनु, कर्जा-निक्षेप अनुपात सिडि रेसियो ९१ प्रतिशत पुग्नु, व्यापार घाटा उक्लिनाले अर्थतन्त्रमा दबाब पर्दै आएको छ। यही दबाबका कारण राष्ट्र बैंकले केही समयदेखि नै आयातमा कडाइ गर्दै आइरहेको थियो।
यसैगरी, मंगलबार नेपाल राष्ट्र बैकले विदेशी मुद्राको सञ्चिति बढाउन करिब ३०० वटा वस्तुको आयात आयात रोक्न बैंकहरूलाई प्रतीतपत्र नखोल्न निर्देशन दिएको छ।
अब बैंकहरूले गाडी, मोटरसाइकल, सुन विलासिताका वस्तुको सामान लगायत चिनी, चकलेटदेखि ल्वाङ, मिनरल वाटर, मदिरा, भेनेगर, चुरोट, सुर्तिजन्य वस्तु, परफ्युम, कस्मेटिक सामान, काठका वस्तु तथा सामानहरू, जुत्ताचप्पल, छाता र लठ्ठीमा साथै मार्बल, सिमेन्ट, प्लास्टर र सेरामिकका सामान आयातका लागि पनि प्रतीतपत्र खोल्न नपाउने भएका हुन् । यस निर्णयलाई शेरचनले स्वागत गरेका छन् ।
यस्तै, एसियाली विकास बैंक (एडिबी) ले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने प्रक्षेपण गरेको छ। सरकारले ७ प्रतिशतको आर्थिक वृद्धि प्राप्त हुने अनुमान गरे पनि एशियाली विकास बैंकको प्रक्षेपण भने चार प्रतिशतभन्दा पनि तल छ।
त्यस्तै, मुद्रास्फिति सन् २०२२ मा बढेर औसतमा ६.५ प्रतिशतसम्म पुने प्रक्षेपण गरिएको छ। आयातमा भएको वृद्धि र न्यून निर्यातका कारण सन् २०२१ को भन्दा २०२२ मा चालु खातामा थप दबाब पर्ने एडिबीले जनाएको छ। यो नोक्सानी ८ प्रतिशतबाट बढेर ९।७ प्रतिशतसम्म पुग्ने प्रतिवेदनमा उल्लेख छ।
यसैगरी, शेरचनले विदेशमा आप्रवासी कामदार तथा अन्यलाई बैकिङ च्यानलबाट रेमिटेन्स सेवा प्रयोग गर्न पनि आग्रह गरेका छन् । वैदेशिक रोजगारमा गएका नेपालीहरूले फागुन महिनामा ९१ अर्ब रूपैयाँ बराबरको विदेशी मुद्रा नेपाल पठाएको तथ्याङ्क छ। यसअघि माघ महिनाको रेमिटेन्स ७१ अर्ब थियो। त्यसको तुलनामा फागुनको रेमिटेन्स प्रवाह २८ प्रतिशत बढेको छ। यो चालू आर्थिक वर्षकै सबभन्दा बढी हो।
विदेशबाट आउनुपर्ने रेमिटेन्सको ठूलो परिमाण बैंकिङ च्यानलको सट्टा हुन्डीबाट जानुले पनि रेमिटेन्स प्रवाहमा असर पारेको छ। कतार, माल्दिभ्स र कोरियाजस्ता मुलुकबाट नेपाल आउने रकम औपचारिकभन्दा अनौपचारिक माध्यमबाट बढी आएका छन्। यसले जति रेमिटेन्स नेपाल भित्रिरहेको छ, त्यसको वास्तविक परिमाण बैंकिङ तथ्यांकमा देखिएको छैन।
उनले हुन्डी कारोबार रोकेर बढीभन्दा बढी रेमिटेन्सलाई बैंकिङ च्यानल बाट पठाउन विदेशमा रहेका श्रमजीवी दाजुभाईलाई औपचारिक रुपमा नै आग्रह गर्न सरकारलाई सचेत पनि गराएका छन् ।
अझै पनि नेपालमा भित्रिने रेमिटेन्सको करिब ३० प्रतिशत अर्थात करिब रु.२ खर्ब २० अर्ब रकम हुण्डीलगायतका गैरकानूनी माध्यमबाट आउने गर्छ । उनले एनआरएनको पनि चर्को विरोध गरेका छन् । यदि एनआएनको भर परे देश नै चुलुम्म डुब्ने उनको विश्लेषण छ ।